सगरमाथा आरोहणका लागि हालसम्मकै धेरै अनुमति जारी



काठमाडौँ । पर्यटन विभागले विश्वकै सर्वोच्च शिखर सगरमाथामा यस वर्षको वसन्त ऋतुमा हुन लागेको आरोहणमा हालसम्मकै धेरै अनुमति जारी गरेको छ ।

कोभिड–१९ को दोस्रो लहरले छिमेकी मुलुकलगायत विश्वभर असर पारिरहेका बेला विभागले शुक्रबारसम्म सलामी दस्तुर लिइ सगरमाथा हिमाल आरोहणका लागि ३ सय ९४ जनालाई आरोहण अनुमति पत्र जारी गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
यसमा ३ सय ७५ जना विदेशी छन् भने १९ जना नेपाली छन् ।

जो मौसम अनुकुल भएपछि मध्य वैशाखपछि सुरु भइ जेठ पहिलो सातासम्म हुने शिखर आरोहणका लागि प्रयास गर्ने छन् ।
विभागकी निर्देशक मिरा आचार्यलेका अनुसार यस वर्षको वसन्तकालीन हिमाल आरोहण अनुमति दिने कार्य जारी नै छ ।

‘सगरमाथाका लागि यो आरोहण अनुमतिको अंक हालसम्मकै उच्च मानिएको छ,’ उनले भनिन्, ‘अनुमति दिने कार्य रोकिएको छैन । तर, सगरमाथाका लागि आरोहण दल व्यवस्थापन गर्ने कम्पनीहरुको इन्क्वाइरीमा अब कमी आउँदै गएको छ ।’

विभागले शुक्रबारसम्म नेपाली र विदेशीबाट संकलन गरिएको सलामी दस्तुर ४७ करोड ७७ लाख पुगेको जनाएको छ । विभागले वसन्त ऋतुमा हुने सगरमाथा आरोहणमा नेपाली आरोहीबाट प्रति व्यक्ति ७५ हजार रुपैयाँ र विदेशी नागरिकबाट प्रति व्यक्ति ११ हजार डलर ९१३ लाख १८ हजार हाराहारी० सलामी दस्तुर लिने गरेको छ ।