राष्ट्रिय सभा उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान



काठमाडौं । आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गदै वैशाख १४ गतेभित्र दल दर्ता गर्न आग्रह गरेको छ । बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा बादल यो क्षेत्रबाट निर्वाचित भएका थिए । बादलले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद रिक्त गरेका थिए ।

बादलको सांसद पद र गृहमन्त्री नै स्वतः पद खारेज भएको थियो । तर सांसद नरहेका बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि गृहमन्त्री नियुक्त गरेका थिए । संविधानको धारा २७१ अनुसार उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आग्रह गरेको हो ।