खनाल–नेपाल समूहले ओलीको कारवाही रोक्न पेश गरेको रिट दर्ता, आइतबार पेसी



काठमाडौँ । आफ्ना समुहका निर्बाचित सांसदमाथि कारबाही गर्न लागिएको भन्दै नेकपा (एमाले)को झलनाथ खनाल–माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतमा बुझाएको रिट निवेदन दर्ता भएको छ ।

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्चलाई प्रतिषेधको आदेश जारी गरीपाऊँ भन्दै बुधबार दिएको निवेदन बिहीबार दर्ता भएको हो । सो रिटको आइतबारका लागि पेशी तोकिएको छ ।

२७ जना सांसदका हकमा त्यस्तो आदेश माग गरिएको हो । निवेदनमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

एमाले अध्यक्ष ओलीले बिनाकारण स्पष्टिकरण सोधेको र बाँकी कारबाही रोक्न भन्दै नेपालपक्ष अदालत गएको हो । ओलीले २७ सांसद्लाई मंगलबार पत्र पठाउँदै जुनसुकै बेला कडा कारबाही गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका थिए ।

त्यस्तै रिटमा २०७५ जेठ २ गतेअघिकै नेकपा (एमाले) ब्युँताउने सर्वोच्चको २०७७ फागुन २३ गतेको आदेश कार्यान्वयन गर्न पनि माग गरिएको छ ।