त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : मलेसियालाई हराउँदै नेपाल फाईलनमा प्रवेश



काठमाडौं । मलेशियालाई ६९ रनले पराजित गर्दै नेपाल त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आज भएको अन्तिम लिग खेलमा मलेसियालाई ६९ रनले पराजित गर्दै नेपाल शीर्ष स्थान रहदै फाइनल पुगेको हो ।

नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रन मात्र बनायो । खराव सुरुवात गरेको मलेसियाले पहिलो तीन ओभरमा नै दुई विकेट गुमाइसकेको थियो । पहिलो ओभरको चौथो बलमा साद अजिजलाई गुमाएको मलेसियाले तेस्रो ओभरको तेस्रो बलमा अनवर अरुदिनलाई गुमायो । मलेसियाका लागि अमिनउद्धिन रम्लीले सर्वाधिक ४१ रन बनाए ।

त्यस्तै अहमद फाईज मोहम्मद नुरले ३१ रन बनाएका थिए । त्यस्तै फित्रि शामले १४, विरन्दीप सिंह १३, मुहम्मद वाफिक १२, अइनुल हाफिजले ११ मा आउट भए । शर्विन मुनियान्दी ३ तथा धिरेन्द्रन मोगन २ रनमा आउट हुँदा अनवर रहमान २ रनमा अविजित रहे ।

नेपालका लागी सन्दिप लामिछाने, कमल सिंह ऐरी, र सोमपाल कामीले समान ३–३ विकेट लिए । भने सुशन भारीले १ विकेट लिए । कमल सिंह ऐरीले टि–२० क्रिकेटमा डेब्यु गरेका हुन । उनले डेब्यु खेलमै ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । नेपालले ४ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेर फाइनल पुगेको नेदरल्यान्ड्सले ४ खेलमा ५ अंक जोडेको छ । मलेसिया ४ खेलमा १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले फाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।