चालु आर्थिक वर्षमा व्यापार घाटा १० खर्ब नाघ्यो



काठमाडौं । चालु आर्थिक वर्षको ९ औं महिनासम्म नेपालको व्यापार घाटा १० खर्ब नाघेको छ । कोरोना महामारीका बाबजुत नेपालको वैदेशिक व्यापारमा भने असर पुगेको छैन । यस अवधिमा आयात र निर्यात गत वर्षको यसै अवधिको तुलनामा बढ्दा समग्र वैदेशिक व्यापार र व्यापार घाटामा समेत उल्लेख्य वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

भन्सार विभागका अनुसार चालु आवको चैत मसान्तसम्म नेपालको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १२.४९ प्रतिशत बढी हो ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा वस्तु आयातमा उच्च वृद्धि भएको छ । चैतसम्म कुल ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ छ । यो गत आवको यसै अवधिको तुलनामा १३.१२ प्रतिशतले बढी हो ।

गत आवमा नेपालले ९ महिनामा ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ । यद्यपि नेपालमा निर्यात भने आयातको तुलनामा निकै कम हुने गरेको छ ।

९ महिनाको अवधिमा नेपालले मात्र ९४ अर्ब ७६ करोड ८० अर्ब ७१ करोड रुपैयाँको बस्तु निर्यात गरेको छ । चालु आवमा वस्तु निर्यातमा गत आवको यसै अवधिको तुलनामा २०.२३ प्रतिशत बढी निर्यात भएको छ । गत आवको यसै अवधिमा वस्तु निर्यात ७८ अर्ब ८१ करोड रुपैयाँ बराबरको भएको थियो ।

९ महिनाको अवधिमा कुल वैदेशिक व्यापारको आकार १२ खर्ब माथि छ । तथ्यांक अनुसार यस अवधिमा कुल १२ खर्ब ६ अर्ब १६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । कुल वैदेशिक व्यापारको आकार अघिल्लो आवको यसै अवधिको तुलनामा १३.६४ प्रतिशतले बढी भएको छ ।

अघिल्लो आवको यसै अवधिमा कुल वैदेशिक व्यापारको आकार १० खर्ब ६१ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.१४ प्रतिशत र निर्यातको हिस्सा मात्र ७.८६ प्रतिशत रहेको छ ।