बेनी–जोमसोम सडक बैशाख मसान्तसम्म दैनिक नौ घण्टा बन्द हुने



काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो ।

आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बिहान ६ः३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ः३० बजेसम्म सडक बन्द गरिएको जानकारी दिएका छन् । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक विस्तारलाई तीव्रता दिन सवारी रोकेर काम गर्ने निर्णय गरिएको उनको भनाई छ । अन्य ठाउँमा पनि निर्माण व्यवसायीले तोकिएको समयमा सडक बन्द गरेर निर्माणको काम गर्न सक्ने उनले बताए ।

यसअघि गत चैत १४ देखि १९ गतेसम्म काभ्रेभिर र कैकुखोला क्षेत्रमा पूर्णरूपमा सवारी आवतजावत बन्द गरेर सडक निर्माण गरिएको थियो । सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चल्नेछन् । बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ ।

प्याकेज नम्बर २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।

निर्माण कम्पनी शर्मा–गजुरमुखीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । करिब रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ बाट निर्माण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ ।