बाँकेमा गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पतालमा भर्ना गरिने



काठमाडौं । बाँकेका अस्पतालहरुम गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गरिने भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा बिरामीको चाप बढेपछि गम्भिर विरामीलाई मात्रै अस्पताल भर्ना गर्ने निर्णय गरिएको हो ।
सङ्क्रमित बिरामीको उपचारका लागि छुट्याइएका शय्या भरिभराउ भइसकेका कारण अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सहायता पर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना लिने निर्णय भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरस सङ्क्रमित तर लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीलाई स्थानीय तहका स्वास्थ्यकर्मीको निगरानीमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्ने गरी होम आइसोलेशनमा बसाइने भएको छ ।

होम आइसोलेशनमा बस्न मापदण्ड नपुग्ने कोभिड सङ्क्रमितलाई स्थानीय तहले सञ्चालन गरेका आइसोलेशनमा राख्ने र पैसा तिरेर बस्न सक्नेका लागि विगतमा झैँ उपयुक्त व्यवस्था तथा मापदण्ड पुगेको होटलमा पेड आइसोलेशनको व्यवस्था गरिने स्रोत व्यक्ति वलीले जानकारी दिए ।