कोरोना परिक्षणमा सुर्या हेल्थ केयरको फटाही : स्वाब नै नलिई पिसिआर रिपोर्ट



काठमाडौं । एउटा निजी ल्याबले ९ हजार रुपैयाँसम्म लिएर कोरोना भाइरस (कोभिड–१९) को पीसीआर टेष्ट नेगेटिभ रिपोर्ट दिने गरेको पाइएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले चलाएको ‘कोभर्ट अपरेशन’का क्रममा सूर्या हेल्थकेयरले विदेश जानेहरुलाई नक्कली रिपोर्ट दिने गरेको पाइएको हो ।

नेपालमा कोरोना संक्रमण घटेसँगै परीक्षण पनि घट्यो । नक्कली रिपोर्टको केस पनि आएको थिएन । तर केही दिनअघि अपराध महाशाखा, बानेश्वरका एक अधिकृतलाई खबर आयो, स्वाब नै नदिई पीसीआर नेगेटिभ भएको रिपोर्ट घरघरमा पुग्ने गरेको छ । महाशाखाले ‘कोभर्ट अपरेशन’ चलाएर अनुसन्धान गर्दा यो घटना बाहिर आएको हो ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङले ‘कोभर्ट अपरेशन’ चलाउन अनुमति दिए । अपरेसनमा खटिएका अधिकृतहरुले विदेश जाने चारजना व्यक्ति खडा गरेर पीसीआर नेगेटिभ रिपोर्ट चाहिएको बहाना बनाई अनुसन्धान गरेको थियो ।

प्रहरीले खडा गरेका व्यक्तिहरुलाई ल्यावले स्वाँव नलिकनै ९ हजारमा रिपोर्ट दिने सहमति भएपछि प्रहरी अधिकृतहरुले ल्याबमा छापा मारेका छन् । महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनी, प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गाराज रेग्मी, कुलदिप चन्दसहित सादा पोशाकको टोलीले ल्याबमा छापा मारेको हो ।

यसरी छापा मार्दा थुप्रै नक्कली पीसीआर रिपोर्ट फेला पारिएको महाशाखाका प्रमुख एसएसपी खापुङले जानकारी दिए । हाल प्रहरी हिरासतमा रहेका प्रयोगशालाका प्राविधिक सल्लाहकार केपी सिंहले भने संकलन गरिएका स्वाबहरुकै आधारमा रिपोर्ट दिने गरेको दाबी गरेका छन् ।

महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार प्रयोगशालाका मुख्य सञ्चालक सीपी श्री कुमार भने फरार रहेकका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिएर सञ्चालन गरिएको यो ल्याबले पीसीआर नेगेटिभ भएका व्यक्तिको स्वाब लिएर अर्को व्यक्तिको नाममा रिपोर्ट बनाइदिने गरेको पाइएको छ ।

महाशाखाका डीएसपी रेग्मीकाअनुसार कोरोना महामारीका अवधिमा फर्जी रिपोर्ट दिएको आशंकामा अनुसन्धान भइरहेको छ ।