ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने नेपाल समूहको निर्णय

कारवाही गरे कानुनी लडाइँ लड्ने


काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ । साथै जवाफ चित्तबुझ्दो नभए कारबाही गर्ने चेतावनी दिएकाले यदी आफुहरुलाई कारबाही गरे कानुनी र राजनीतिक लडाइ लड्ने निर्णय पनि गरेको छ ।

माधवकुमार नेपाल पक्षमा लागेका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई ओलीले स्पष्टीकरण सोधेका थिए । त्यसपछि नेपाल समूहका सांसदको आकस्मिक बैठक बसेको थियो ।

काठमाडौंमा उपलब्ध एमालेका नेपाल समूहका सांसदको आकस्मिक बैठकले ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र कानुनी लडाइँ पनि लड्ने निर्णय गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

सांसद झाँक्रीले व्यक्तिगत स्पष्टीकरण सोधेकोले व्यक्तिगत रूपमै जवाफ बुझाउनेभन्दै उनले अगाडी भनिन् ‘यो कुनै स्पष्टीकरण दिनलायक स्पष्टीकरण सोधिएको त होइन । स्पष्टीकरण दिएनौं भने प्रतिरक्षा नगरेको हुन्छ । हामी अदालतसम्म जान्छौं ।’

अध्यक्ष ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा नजाने पनि झाँक्रीले बताइन् । नेपाल समूहले नयाँ राजनीतिक दल गठन नगर्ने बताएको छ । उनले आफुहरुको एमालेभित्रै रहेर लड्ने योजना रहेको बताइन् ।