सल्यानको कुमाखमा वनको डढेलो बस्तीमा पस्दा ५ घर जले



काठमाडौं । वनमा लागेको डढेलो बस्तीमा पस्दा सल्यानको कुमाख गाउँपालिका–३ राम्रीमा पाँच घरगोठ जलेर नष्ट भएको छ । मंगलबार बिहान थानीय रातपहरा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा नन्दराम ओलीको घरगोठ, क्षेत्रबहादुर ओलीको घरगोठ र होतीराम ओलीको गोठ जलेर नष्ट भएको हो ।

घरगोठ जल्दा घरमा भएका खाद्यान्न, लत्ताकपडा,नगद, गहनालगायत सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यान प्रहरीका सूचना अधिकृत अर्जुन पौडेलका अनुसार पाँच घरगोठ जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको छ । घरगोठ जलेर नष्ट भएका नन्दराम र क्षेत्रबहादुर ओलीको परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसेका छन ।

स्थानीय र प्रहरीको सक्रियतामा सोमबारदेखि सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्न सफल भएको र बस्तीका अन्य घरहरु बचाउन सकिएको उनले बताए ।
जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण एक महिनामा दर्जन घर जलेर नष्ट भएको र दर्जन बस्ती जोखिममा रहेको प्रहरीले जनाएको छ ।