सर्वदलीय बैठक : राष्ट्रिय समस्याका विषयमा साथ रहने दलहरुको प्रतिबद्धता



काठमाडौं । आज बसेको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ ।

दलबाट राष्ट्रिय समस्याका विषयमा सरकारको साथ रहने कुराको प्रतिबद्धता आएको बैठकमा सहभागी नेकपा (एमाले) का प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकपछि पत्रकारसँग कुरा गर्दै ज्ञवालीले बैठकमा कोरोना महामारीको प्रतिकार्य र रोकथामका उपाय कसरी अवलम्बन गर्ने, रिक्त भएका प्रतिनिधिसभा, प्रदशेसभा र स्थानीय तहमा कसरी उपनिर्वाचन सम्पन्न गर्ने तथा संसद्मा अड्किएका केही विजनेश र पछिल्ल्ला राजनीतिक स्थितिका बारेमा गम्भीर रुपमा छलफल गरेका जानकारी दिए ।

खुला सिमाना र अरु विभिन्न कारणले गर्दा कोरोना महामारीविरुद्धमा सबै दलको एउटै राय रहेको जानकारी गराउँदै उनले मुलुकमा दिन प्रतिदिन चुनौती बढ्दै गएको सन्दर्भमा अझै प्रभावकारी ढङ्गले काम गर्न दलका नेताहरुबाट सरकारलाई सुझाव आएको जानकारी दिए ।
दलका नेताबाट खोपको सुनिश्चित गर्दै ‘हटस्पट’ क्षेत्रमा विद्यालय बन्द गरेर तथा धेरै भीडभाड हुने क्षेत्रमा जनातालाई अपिल गरेर भीड नियन्त्रणमा कदम चाल्न सरकारलाई आग्रह गर्दै त्यसमा साथ रहने प्रतिबद्धता आएको बताए ।

रिक्त स्थानमा हुने उपनिर्वाचनमा संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन आयोगले तोकेको समयमा निर्वाचनमा सहभागी हुने सबै दलबाट सहमति आएको मन्त्री ज्ञवालीको भनाइ छ तर नेपाली कांग्रेसले भने भदौमा महाधिवेशन भएकाले त्यसलाई प्रभावित नहुने गरी कार्यतालिका प्रकाशित गर्न सुझाव दिएको जनाइएको छ । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले परामर्श गरेर अप्ठ्यारो नपार्ने गरी अघि बढ्ने आश्वासन दिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।