सामाजिक रूपान्तरणको अभियानलाई गतिशील बनाउन खाँचो छ : मुख्यमन्त्री राउत



जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संस्कृति, सभ्यताको रक्षा र सामाजिक रूपान्तरणको अभियानलाई गतिशील बनाउनुपर्ने खाँचो रहेको बताएका छन् ।

लोकपर्व जुडशीतलका अवसरमा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १७ मा सरस्वती क्रिक्रेट टीम र कनकपट्टी युवा क्लबद्वारा तेतरियामा आज आयोजित जुडशीतल उत्सव र क्रिकेट प्रतियागिताको शुभारम्भ गर्दे मुख्यमन्त्री राउतले ज्येष्ठ नागरिकको सम्मान गर्दै विकृतिजन्य गतिविधिको अन्त्य गर्नेतर्फ सबैको अग्रसरता आवश्यक रहेको बताएका हुन् ।

अन्योल र अराजक स्थितिलाई परास्त गर्नु आजको आवश्यकता भएको चर्चा गर्दै उनले उत्साह, उमङ्ग, प्रगतिका बाधकहरूलाई निरूत्साहित गरी जीवनलाई सार्थक बनाउन क्रियाशील हुनु पर्ने धारणा राखे ।