नागरिकको जीवन रक्षा पहिलो कर्तव्य : प्रधानमन्त्री ओली



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्नु रहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै कोभिड–१९ को महामारीबाट सबैलाई सुरक्षित रहन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले जीवन सुरक्षालाई प्राथमिक महत्वमा राखरे काम गरिरहेको र महामारीका कारण तुलनात्मक रूपमा असर परे पनि कम क्षति भएको उल्लेख गरे । महामारीका बीचमा पनि कृषिलाई राम्रो र व्यापार घाटाको अन्तर कम गर्न सफल भएको दावी ओलीको छ ।
प्रधानमन्त्री ओलीका अनुसार गतवर्ष लुम्बिनीमा पाँच हजार क्षमताको ध्यानकेन्द्र, गोदावरीमा तीन हजार क्षमताको सभाहल सम्पन्न भएको छ भने अन्य थुप्रै ठाउँमा सभागृहहरू निर्माण भइरहेका छन् ।

जनप्रतिनिधित्वको युगमा आइपुग्दा पनि जनप्रतिनिधि बसेर छलफल गर्ने निर्णय गर्ने थलो संसद् भवन नभएको हुँदा गतवर्ष नै त्यो काम अगाडि बढाएका उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सरकारले २०७७ सालमा जनतामा आशा जगाउने गरी काम गरेको बताए ।
उनले महिनाको रु १०० बाट शुरु भएको सामाजिक सुरक्षा भत्ता आज दिनको रु १०० मा पुगेको र आउँदो बजेटमा वृद्धि गरिने जानकारी आश्वासन समेत दिएका छन् ।