बसमै ‘सिरिन्ज’ हानेपछि पाठक प्रहरी नियन्त्रणमा



बसमा यात्रा गरिरहेकी एक महिलालाई ‘सिरिन्ज’ हानेको अभियोगमा एक जना युवा बनेपाबाट पक्राउ परेका छन्।

स्याङ्जा वालिङ नगरपालिका-१३ घर भई बनेपा बस्दै आएका ३४ वर्षीय खगेन्द्रप्रसाद पाठकलाई बनेपास्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो।

‘तीखो’ चिजले घोचेपछि ती महिला बसमै कराएकी थिइन्। आक्रमण गर्ने पाठक महिलाको नजिकै थिए। यात्रुहरुले पाठकलाई कुटपिट गरी बाहिर निकालेका थिए। काभ्रेका प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार बसभित्रै ती युवाले सिरिन्ज हानेपछि यात्रुहरुले कुटपिट गरी बाहिर निकालेका थिए।

उनलाई बनेपा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। पीडित महिलालाई उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको सापकोटाले बताए। घटनापछि आक्रोशित बसका यात्रु तथा स्थानीयले इलाका प्रहरी कार्यालय बनेपामा प्रदर्शन गरेका थिए।