बन्द रहेको काठमाडौँ फन पार्क शनिबारदेखि सञ्चालन हुने



काठमाडौं । आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने भएको छ । रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरुपमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा ल्याउन लागेको काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले जानकारी दिए ।

डेढ वर्षदेखि बन्द रहेको देशकै पहिलो फन पार्कमा ३० जना स्थानीयलाई प्रत्यक्ष्य रोजगारी दिँदै नयाँ वर्ष २०७८ को अवसर पारेर शनिबार उद्घाटन गरी सञ्चालनमा ल्याउन लागिएको जनाइएको छ ।कर्णालीको वेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्परा, यहाँ प्रयोग भएका धेरै वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा राखिएको प्रबन्ध निर्देशक थापाले बताए ।

एकै ठाउँमा घुम्न र रमाइलो गर्न जाने सुरक्षित ठाउँको अभाव भइरहेको बेलामा आन्तरिक पर्यटनको विकास गर्ने लक्ष्यसाथ बालबालिकादेखि, विद्यार्थी, युवायुवती र पारिवारिक सदस्यले एकै ठाउँमा मनोरञ्जन लिनसक्ने गरी यो पार्क सञ्चालनमा आउन लागेको हो ।