कांग्रेस सभापति देउवाद्वारा तीन दलको बैठक आव्हान



काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको बैठक आव्ह्वान गरेका छन् । सत्ता समिकरणबारे छलफल गर्न शुक्रबार दिउँसो ३ बजेका लागि देउवाले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
उनले सरकारको नेतृत्व र त्यसको पहल गर्ने निर्णय कांग्रेसले गरिसकेकोले त्यसैबारे छलफल गर्न शुक्रबारका लागि तीन दलको बैठक बोलाएका हुन् । माओवादी केन्द्र र जनता समाजवादीसँग हुने बैठकमा देउवाले सरकारबारे उनीहरुको ठोस धारणा माग्ने तयारी गरेका छन् ।
केपी ओली नेतृत्वको सरकारलाई जतिसक्दो छिटो विस्थापित गर्नुपर्ने अधिकांश कांग्रेस नेताहरुको राय रहे पनि देउवा भने ओलीप्रति केही नरम देखिँदै आएका थिए ।
तर आन्तरिक दवाव तीव्र भएपछि गत शुक्रबार औपचारिक बैठकबाटै कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जसपाले नयाँ सरकार बनाउनका लागि सहयोग गर्ने र नगर्ने निर्णय नगरेकाले देउवाले पार्टी निर्णयपछि पनि अग्रसरता लिएका थिएनन् ।
प्रतिनिधिसभा पुनःस्थापना भएको ३८ दिनपछि चैत २० गते कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको थियो ।
कांग्रेसले सरकारको नेतृत्व गर्ने निर्णय लिए पनि ओलीको कदमविरुद्ध रहेको माओवादी केन्द्रले अझै समर्थन फिर्ता लिएको छैन । उसले अर्को सरकार बन्ने सुनिश्चित भएपछि ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेको छ ।