वायु प्रदूषण फेरी बढ्यो : मुख्य कारण डढेलो



काठमाडौँ । वायु प्रदूषण र तुवाँलो राजधानीसहित देशभर फेरि विकराल बन्दै गएको छ । गत साता हल्का वर्षापछि कम भएको वायु प्रदुषण फेरी उच्च बन्दै गइरहेको हो । सरकारी अधिकारीहरूले यसरी प्रदूषण बढ्नुमा वन डढेलोलाई प्रमुख कारण मानिरहेका छन् ।

गत चैत १३ पछि देशका सबैजसो भागमा वन डढेलोको संख्या र फैलावट अत्यधिक बढिरहेको छ । गत साता पश्चिम वायुको प्रभावले हल्का वर्षा हुँदा केही हदसम्म प्रदूषण हटेको थियो । फेरि डढेलोको मात्रा बढेपछि शनिबारपछि प्रदूषण बढिरहेको जोशीको तर्क छ ।

काठमाडौंको रत्नपार्कमा मंगलबार साँझ ६ बजेको वायुको गुणस्तर सूचकांक (एक्यूआई) प्रतिघण्टा १९४ छ भने ललितपुरको भैंसेपाटीमा १८९ छ । सबैभन्दा बढी हेटौंडामा एक्यूआई ४४४ छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ सम्म स्वस्थ हुन्छ भने २०१ भन्दा माथिलाई धेरै अस्वस्थकर र ३०१ भन्दा माथिलाई घातक मानिन्छ ।

‘आईक्यू एअर’ को नक्साले पनि एसियासहित अफ्रिकी मुलुकसम्मै प्रदूषण भरिएको देखाएको छ । ‘आईक्यू एअर’ को तथ्यांकअनुसार करिब दुई सातादेखि एसियाली र अफ्रिकी मुलुकहरूमा बाक्लो तुवाँलोको मात्रा अत्यधिक देखिएको छ ।