नेविसंघ गुटमा लाग्न हुदैनः वरिष्ठ नेता पौडेल



चितवन- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता पौडेलले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको बताए ।

राजनीतिमा मिशन र भिजन नहुँदा सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको उनको भनाइ थियो । उनले भने, ‘राजनीतिमा मिशन नहुँदा जनतामा वितृष्णा बढेर गयो । यस कारण राजनीतिले ठीक दिशा लिन सकेको छैन ।’ नेता पौडेलले ७० वर्षको सङ्घर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योलता छाएको बताए ।

फरक प्रसङ्गमा उनले नेपाल विद्यार्थी सङ्घ गुटमा लाग्न नहुने सुझाव दिए । नेविसङ्घ स्वचालित हुन आवश्यक रहेको बताउँदै उनले भने, ‘नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक छ ।’