कोरोना कहरकै बिचमा ३७ आरोही समूहले लिए आरोहण अनुमति



काठमाडौँ । कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन् । महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको छ ।

यतिखेर विभिन्न मुलुकबाट नेपालको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोहीले अनुमति लिइरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ३७ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिसन पर्मिट) दिएको छ ।

सगरमाथाका १८ सहित ३७ आरोही समूहका ३०३ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ । सगरमाथा आरोहणका लागि मात्रै १८ आरोही समूहले अनुमति लिएको छ । हालसम्म सगरमाथाको १८ आरोही समूहसहित ३७ आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिनुभयो । विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि छ ।

विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ । कोभिड महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ ।

बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएको छ । नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली छन् ।
यस याममा हिमाल आरोहण बापत पर्यटन विभागले हालसम्म झण्डै २३ करोड रोयल्टी सङ्कलन गरेको छ । विभागको सोमबारसम्मको विवरणमा रु २२ लाख ७७ हजार एक हजार ४५९ रोयल्टी जम्मा भएको छ ।