माओवादी केन्द्रद्वारा बाग्मतीका मुख्यमन्त्री पौडलको राजीनामा माग



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै संसदीय दलका नेता शालिकराम जम्कट्टेलले वर्तमान प्रदेश सरकार पूर्णरुपमा असफल भइसकेको, अविश्वासको प्रस्ताव दर्ता गर्दा अल्पमतमा रहेको कारण तत्काल राजीनामा दिएर नयाँ सरकार गठन गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक सुरु गर्ने बित्तिकै माओवादीका सांसदहरुले उठेर बोल्ने समय माग गरेका थिए । पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका उनले विद्युतीय बस सञ्चालन, मदन भण्डारी फाउन्डेसनलाई ५० लाख रुपैयाँ दिनुको कारण स्पष्ट पार्न समेत माग गरेका छन् ।
माओवादीले बैठकमा उठेर विरोध जनाउने भएपछि सभामुख श्रेष्ठले अर्को बैठक बुधबार बिहान ११ बजेका लागि आह्वान गर्दै यस बैठकलाई स्थगित गरेका थिए ।