पार्टी परिवर्तन गरेका ४ मन्त्रीलाई सांसदबाट हटाउने माओवादी केन्द्रको पत्र



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चार सांसदलाई पदबाट हटाउने निर्णय गरेको छ । केन्द्रले माओवादी पार्टीबाट निर्वाचित भएका प्रतिनिधिसभाका ४ साँसदलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको हो ।

चार सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले पार्टी परिवर्तन गरेकाले सांसद पदबाट हटाउन अध्यक्ष तथा दलका नेता पुष्पकलम दाहालले लेखेको पत्र माओवादीका प्रमुख सचेतक देव गुरुङले संसद् सचिवालयमा बुझाएका हुन् ।

उनिहरु चारै जना अहिले मन्त्री रहेका छन् । भट्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् । त्यस्तै रायमाझी उर्जामन्त्री हुन् भने शाह सहरी विकास मन्त्रालयको जिम्मेवारीमा र चौधरी श्रममन्त्री हुन् ।

उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित भएका छन् । राष्ट्रिय सभामा माओवादीबाट निर्वाचित रामबहादुर थापालाई पनि हटाउने माओवादीले निर्णय गरेको छ । त्यसको जानकारी केही दिनमा मात्रै संसद् सचिवालयलाई दिइने माओवादी नेताहरूले बताएका छन् । संसद् अधिवेशन चालु रहेको बेला सांसदबाट हटाइएको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ ।