बझाङमा पानी ट्याङ्की फुटेर दुईजनाको मृत्यु



काठमाडौं । बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवर र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएकी कुँवरको अमिसा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको पानी ट्याङ्कीमा पानी जम्मा गर्ने क्रममा पानी ट्याङ्की फुटेको हो । परियोजनाअन्तर्गत सेतीनदीबाट लिफ्टिङ गरेर गाउँमा ल्याइएको थियो । पानी ट्याङ्की चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो ।

मर्मत गरिएको ट्याङ्कीमा पानी जम्मा गर्न लागेका बेला एक्कासि ट्याङ्की फुटेर घटना भएको स्थानीय गोपाल कुँवरले जानकारी दिए । अमिसा अस्पतालको लापर्वाहीका कारण सुन्दरीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । सुन्दरीको खुट्टामा चोट लागेको थियो ।

थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा लापर्वाही गर्दा श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान् गोपाल कुँवरले गुनासो गरे ।