बर्दियामा मान्छे आक्रमण गर्ने बाघलाई सदर चिडियाखाना जावलाखेलमा राखियो



काठमाडौँ । गैंडा गणनामा खटिएका एक कर्मचारीलाई आक्रमण गर्ने बाघलाई जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । आइतबार हात्तीका लागि घाँस काट्दै गर्दा हात्तीसारका पछुवा पुलिसराम थारूको बाघले आक्रमण गर्दा ज्यान गएको थियो ।

आइतबार नै नियन्त्रणमा लिइएको उक्त बाघलाई सदर चिडियाखानामा मंगलबार ल्याइएको हो । वन्यजन्तु प्राविधिकहरुले आइतबार राति नै उक्त बाघलाई पछ्याउँदै डार्ट गरेर नियन्त्रणमा लिएर खोरमा राखेका थिए ।

यसअघि पनि निकुञ्जले कात्तिकयता आइतबारसम्म पटक–पटक मान्छेलाई आक्रमण गर्ने ४ वटा बाघ नियन्त्रणमा लिएको थियो । गेरुवा गाउँपालिकाबाट दुई, मधुवन नगरपालिका र निकुञ्जभित्रैबाट एक÷एक वटा बाघलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकामध्ये बाँके निकुञ्जको खोरमा राखिएको एउटा बाघ खोर भत्काएर भागेको थियो । एउटा बाघ निकुञ्जको रम्मापुर र अर्को ठाकुरद्वारा खोरमा छ । गत वर्ष पनि एउटा बाघ नरभक्षी भएको शंकामा निकुञ्जले नियन्त्रणमा लिएको थियो ।

त्यो बूढो बाघ भने प्राकृतिक कारणले खोरमै मरेको थियो । गत वर्षदेखि बर्दिया निकुञ्जभित्र र बाहिर बाघको आक्रमण बढेको छ । दुई वर्षमा २० जना मारिएको निकुञ्जले जनाएको छ ।