निर्माण सम्पन्न हुनै लाग्दा भत्कियो त्रिशूलीमा बन्दै गरेको पुल



काठमाडौं । चितवनको ठिमुरा र तनहुँको देवघाटको घिनाघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटर गुड्ने पुल भत्किएको छ । मंगलबार बिहान चार बजेतिर पुल भत्किएको स्थानीयले बताएका छन् । ढलान भएकोमध्ये ठिमुरा तर्फका दुईवटा कंक्रिटको स्पान नदीमा खसेको सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

आउँदो जेठभित्र निर्माण सक्ने गरेर धमाधम काम भइरहेका बेलामा यस्तो घटना भएको डिभिजन सडक कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताए । पुलको शिलान्यास २०७१ सालमा भएको थियो । पुल निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रुपमा पाएका थिए ।

पुल निर्माणको कुल लागत १९ करोड रुपैयाँ रहेको उनले बताए । यो पुललाई अघिल्लो वर्ष पनि बाढीले असर गरेको थियो । चितवन र तनहुँ जिल्ला मात्रै नभई वाग्मती र गण्डकी प्रदेशलाई पनि जोड्ने यो पुलको लम्बाइ २ सय मिटर रहेको छ ।