बागमती प्रदेसभा बैठक आज बस्दै, यस्तो छ तयारी!



काठमाडौं । बागमती प्रदेसको प्रदेसभा आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्नेछ।

मंगलबार बस्ने सातौं अधिवेशन बैठकमा सत्तारुढ दल नेकपा एमाले, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता बस्ने कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

उक्त बैठक कक्षको पहिलो लहरमा सत्तारुढ दल नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल र दोस्रो ठूलो दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँलाई क्रमशः लहरै बस्ने कक्षमा कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

यसैगरी उक्त बैठक कक्षको भित्र पश्चिमतर्फको स्थानमा विभिन्न साना दलहरुको नेता बस्ने लहरमा नामसहित समावेश गरिएको कुर्सी पनि राखिएको प्रदेशसभा सचिवालयका सचिव खड्काले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेताको रुपमा शालिकराम जम्मकट्टेल, उपनेतामा प्रदेशसभाका सदस्य कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठ नियुक्ति भएका पत्र प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको पनि सो सचिवालयले जनाएको छ।

प्रदेशसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भई आएको कार्यसूचीहरु बैठकमा प्रस्तुत हुने र राष्ट्रिय सरोकारसँग सम्बन्धित विषयको प्रस्तावबारे पनि उक्त बैठकलाई जानकारी दिने व्यवस्था गरिएको सभामुख सानुकुमार श्रेष्ठले बताए।

गत माघ ७ गते सातौं अधिवेशन बैठक शुभारम्भ भई गत माघ ९ गते मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल भई सोही दिनको अपराह्नदेखि अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरिएको थियो।