काठमाडौं आज पनि विश्वकै प्रदूषित शहरको १ नम्बरमा



काठमाडौं : राजधानी काठमाडौं आज पनि विश्वकै प्रदूषित सहरको सूचीमा नम्बर १ मा रहेको छ। हिजो पनि सोही सूचीमा रहेको थियो।

केही दिन कम देखिएको प्रदूषण हिजोदेखि पुनः उच्च बन्दै गएको छ। घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको छ। आज बिहान काठमाडौंको क्युआई ३१० रहेको छ।

प्रदूषण गत हप्ताकै अवस्थामा नपुगे पनि हिजोदेखि भने बढ्न थालेको हो।

वनमा लागेको डढेलो नियन्त्रण नभएसम्म तत्काल प्रदूषण कम हुने सम्भावना नरहेको विज्ञहरुले औँल्याउने गरेका छन्। वायुमण्डलमा प्रदूषण अत्यधिक भई वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा समेत थपिँदै गएको छ।

मंगलबार बिहान काठमाडौंपछि बंगलादेशको ढाका, भियतनामको हानोइ, भारतको दिल्ली तथा म्यानमारको यांगुन शहर लगातार दोस्रो, तेस्रो र चौथो, पाँचौ स्थानमा रहेका छन्। काठमाडौंबाहेक अति अस्वस्थकर वायु प्रदूषण रहेको देशभित्रका अन्य सहरमा रुपन्देहीको सिद्धार्थनगरको क्युआई २७९, नेपालगञ्जको क्युआई २३० र पोखराको क्युआई २१४ छ।