लुम्बिनी प्रदेश सरकार परिवर्तन गर्न तीन दलको हस्ताक्षर संकलन सुरु



काठमाडौं । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेबाहेकका तीन दलले हस्ताक्षर संकलन सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर गरिसकेका र जसपाका तीन जनाको हस्ताक्षर भएको र तीन जनाको बाँकी रहेको जनाइएको छ । सोमबारको प्रदेशसभा बैठककै बीचमा अविश्वास प्रस्ताव दर्ता गर्ने प्रक्रिया सुरु भएको हो । ८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् ।

एमाले प्रवेश गरेका दुई जना प्रदेशसभा सदस्यलाई कारबाहीको सिफारिस भएसँगै लुम्बिनी प्रदेश सरकार परिवर्तनको खेल पनि सुरु भएको हो । मुख्यमन्त्री शंकर पोखरेललाइ सरकार जोगाउन ४४ मत आवश्यक पर्छ । एमालेकै दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहमा छन् ।

माओवादीका दुई जना प्रदेशसभा सदस्यले माओवादी दल परित्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन् । अर्को दल प्रवेश गरेका रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रको संसदीय दल र पार्टीले पनि कारबाही गर्दै कारबाही गरेको जानकारी प्रदेशसभामा दर्ता गरिसकेको छ ।