किरण चेम्जोङ यो साताको एसियामै उत्कृष्ट खेलाडी



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार एएएफसी इन्टरनेसनल प्लेअर अफ दी विकमा किरणसहित १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसमा ९ खेलाडीलाई पछि पार्दै किरण विजेता बनेका हुन् ।

यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी थिए भने उपाधि जित्ने पनि पहिलो खेलाडी बनेका छन् । एएफसीको वेबसाइटमा मतदान बन्द भएको जनाइएको छ । जसमा किरणले ५५.६९ प्रतिशत मत ल्याउँदै ‘एएफसी प्लेयर अफ दी विक’ बन्न सफल भए । दोस्रो स्थानमा रहेका साउदी अरेबियाका सलेह अल–सेहेरीले २०.७२ प्रतिशत मत पाए । इराकका अल अली हवई तेस्रो हुँदै १०.१६ प्रतिशत मत पाए ।

किरणले एसियाकै साताको उत्कृष्ट खेलाडीको अवार्ड जित्नु खुसीको विषय भएको जनाएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा सोमबार सम्पन्न थ्री नेसन्स कपमा नेपालले उपाधि जित्दा किरण कप्तान थिए । उनको कप्तानीमा नेपालले पहिलो उपाधि जितेको हो । जसमा तीन खेल खेल्दा किरणले दुई क्लिनसिट राखे भने एक गोल मात्र व्यहोरे ।

प्लेअर अफ दी विकको मनोनयनमा किरणसँगै ताजिकिस्तानका एलिसेर जाहालिलोभ, जोर्डनका मुसा अल तामारी, बहराइनका मोहमेद मरहुन, इराकका अला अली महावी, साउदी अरेबियाका सलेह अल सेहरी, इरानका सरदार अज्मोउन, जापानका युया ओसाका, कतारका मोहमेद मुन्तारी र युएईका अली मब्खोतुन परेका थिए । यस्तै उनी यस सिजनको आइ लिग टिम अफ दि सिरिजमा पनि पर्न सफल भएका छन् ।