भियतनामका नवनियुक्त राष्ट्रपति फूकद्वारा सपथ ग्रहण



काठमाडौं । भियतनामका नवनियुक्त राष्ट्रपति नुएन झुआन फूकले सोमबार सपथ लिएका छन् । भियतनाममा कोरोनाभाइरस महामारी नियन्त्रणमा सफलतापूर्वक भूमिका निर्वाह गरेका उनले औपचारिक रुपमा भियतनामको राष्ट्रपतिमा सोमबार सपथ लिएका हुन् ।

सपथ ग्रहणपश्चात नवनियुक्त राष्ट्रपति फूकले आफूले देशको उच्च पदमा रहेर सेवा गर्ने अवसर प्राप्त गरेकामा खुशी व्यक्त गरेका छन् । भियतनामको पाँच वर्षसम्म प्रधानमन्त्री रहेका ६६ वर्षीय फूकको कार्यकालमा भियतनामको अर्थतन्त्र तिब्र रुपमा विकास भएको थियो ।

उनको सरकारले कोभिड–१९ को नियन्त्रणमा प्राप्त गरेको सफलतालाई देशभित्र र बाहिर निकै प्रशंसा गरिएको थियो । सोमबार सम्पन्न गोप्य मतदानमा फूकले ५०० सदस्यीय राष्ट्रिय सभामा धेरै मत प्राप्त गरेको समाचारमा जनाइएको छ । भियतनाममा कम्युनिष्ट पार्टीको शासन रहेको छ ।

राष्ट्रपति ७६ वर्षीय नुयेन फू ट्रोङ भियतनाम कम्युनिष्ट पार्टीको महासचिवमा गत जनवरीमा चुनिएपछि राष्ट्रपति पद रिक्त थियो । त्यसपछि फूक राष्ट्रपति पदका एक्ला दाबेदार रहेका थिए ।