बर्दिया राष्ट्रिय निकुञ्जमा मान्छे आक्रमण गर्ने बाघ काठमाडौं ल्याइँदै



काठमाडौँ । आइतबार नियन्त्रणमा लिइएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जले काठमाडौं पठाउने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले उक्त भाले बाघलाई सदर चिडियाखाना, जाउलाखेलमा राख्नका लागि ठाकुरद्वाराबाट पठाउन लागिएको जानकारी दिएका हुन् ।

गैंडा गणनामा खटिएका एक कर्मचारी आइतबार हात्तीका लागि घाँस काट्दै गर्दा हात्तीसारका पछुवा पुलिसराम थारूको बाघले आक्रमण गर्दा ज्यान गएको थियो ।
वन्यजन्तु प्राविधिकहरुले आइतबार राति नै उक्त बाघलाई पछ्याउँदै डार्ट गरेर नियन्त्रणमा लिएर खोरमा राखेका थिए ।

यसअघि पनि निकुञ्जले कात्तिकयता आइतबारसम्म पटक–पटक मान्छेलाई आक्रमण गर्ने ४ वटा बाघ नियन्त्रणमा लिएको थियो । गेरुवा गाउँपालिकाबाट दुई, मधुवन नगरपालिका र निकुञ्जभित्रैबाट एक÷एक वटा बाघलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकामध्ये बाँके निकुञ्जको खोरमा राखिएको एउटा बाघ खोर भत्काएर भागेको थियो । एउटा बाघ निकुञ्जको रम्मापुर र अर्को ठाकुरद्वारा खोरमा छ ।