म्याग्दीको अन्नपुर्णमा गुराँस टिप्नेलाई पाँच हजार जरिवाना



काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । गुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रुख मासिने खतरा बढेको भन्दै राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको जनाइएको छ ।

घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ । समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई रु पाँच हजार जरिवाना तिराउने निर्णय गरिएको जानकारी दिए ।

गुराँसको फूल नपाक्दै टिपिदिदाँ त्यसको बिउ भुइमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने समस्या हुने उनको भनाई छ । घोडेपानीको जङ्गलमा पछिल्लो दश वर्षयता गुराँसका रुख काट्न पनि रोक लगाइएको छ । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रताजिका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छन् । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको आकलन गरिएको छ । वसन्त ऋतृृसँगै घोडेपानी क्षेत्रको गुराँसको जङ्गल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ ।