कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रावल नियुक्त



काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मङ्गल रावल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा रावललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले सिफारि गरेपछि प्रधानमन्त्री ओलीले डा. रावललाई नियुक्त गरेका हुन् । सिफारिस समितिले प्रतिष्ठानमा कार्यरत सहप्रध्यापक डा रावलसँगै प्रा.डा. रेशम राना र सहप्रध्यापक डा पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो ।

गत फागुन १६ गते प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद खाली रहेकोमा डा. रावलले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । त्यसैगरी प्रधानमन्त्री ओलीले आइतबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा डुकबहादुर क्षेत्रीलाई उपकुलपति नियुक्त गरेका छन् । नियुक्त उपकुलपतिहरुको कार्यकाल चार वर्षको हुनेछ ।