स्वास्थ्य मापदण्ड लागू गराउन स्थानीय तहलाई पत्राचार



काठमाडौं । कोरोना संक्रमण रोकथाम नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ ।

मन्त्रालयको संघीय मामिला शाखाले स्थानीय तहमा थप सजगता र निगरानी बढाउन ७ सय ५३ वटै स्थानीय तहमा पत्राचार गरेको शाखाका अधिकृत महेश्वरकुमार दाहालले जानकारी दिए । भारत र कतिपय युरोपेली मुलुकहरुमा पुनः कोरोना संक्रमणको दर बढ्न थालेको र त्यसको असर पर्ने सक्ने अवस्थालाई ध्यानमा राखेर जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गराउनुपर्ने खाचो रहेको मन्त्रालयले जनाएको छ ।

यस अवस्थामा कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रबाट लेखी आएबमोजिम गर्न र गराउन पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । स्थानीय तहले अब सबै प्रवेश बिन्दुका हेल्थ डेस्कमा ज्वरो आएका यात्रुहरुको आरडीटी परीक्षणको व्यवस्था मिलाउनुपर्नेछ ।

परीक्षण गरी कोरोना संक्रमित भएमा अस्पताल र स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी तिनीहरुको व्यवस्थापन गर्न स्थानीय तहलाई भनिएको छ । व्यवस्था गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मलेरिया तथा कोरोना व्यवस्थापनसम्बन्धी निर्देशिकाबमोजिम गर्नुपर्ने छ ।

त्यसै गरी, क्वारेन्टाइन आदेश २०७७ बमोजिमको व्यवस्था लागू गर्नुपर्ने छ । रोगको निगरानी र कन्ट्रयाक्ट ट्रेसिङलाई बढावा दिने व्यवस्था मिलाउनुपर्ने छ । आफ्नो पालिकामा कोरोना जोखिम रहेको स्थान वा क्षेत्रको पहिचान गरी समुदायस्तरमा कोरोना नियन्त्रण गर्न गरिने प्रावधान पालना गरिनेछ ।जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रचारप्रसार अभियान तीव्र बनाउन पनि मन्त्रालयले भनेको छ ।