जापानमा हुने किक बक्सिङ हिट ४८ मा नेपालका हिमचितुवा नामले परिचित घिमिरेले प्रतिस्पर्धा गर्ने



काठमाडौँ । नेपालका युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले विश्वका भेट्रान बक्सरको आकर्षक भिडन्त हुने ‘अन्तरराष्ट्रिय व्यावसायिक प्रोफेशनल किक बक्सिङ हिट ४८’ प्रतियोगितामा भिड्ने भएका छन् ।

जापानको नागोया शहरमा रहेको नागोया कङग्रेस हलमा आगामी वैशाख १२ गते प्रतियोगिता आयोजना हुँदैछ । हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरलले यही चैत १५ गते ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेका थिए ।

जापानको टोकियो शहरमा सम्पन्न सो अन्तरराष्ट्रिय प्रतियोगितामा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएका थिए ।

विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा सहभागी गराइएको थियो । सो प्रतियोगिताको पदक आफ्नो पक्षमा ल्याएसँगै उनी कम उमेरका पदक हात पार्ने पहिलो नेपाली युवा खेलाडी समेत बनेका छन् ।