विदेशीलाई लुटपाट गर्ने समूह पक्राउ



काठमाडौँ । चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ ।

उनीहरुले यही चैत १६ गते काठमाडौँको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर लुटपाट गरेका प्रहरीले जनाएको छ ।
छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धारिलो हतियार देखाइ नियन्त्रणमा लिई हातखुट्टा टेपले बाँधी लुटपाट गरेको प्रहरीले जनाएको छ । सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।