रारा घुम्ने पर्यटक बढे



काठमाडौं । कर्णालीको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षणको रुपमा रहेको छ । हाल त्यँहा घुम्न जाने पर्यटक बढेका छन् । कोरोना महामारीका कारण करिब १ वर्ष थलिएको पर्यटकिय क्षेत्र पर्यटकको चहलपहलले फेरी माथी उठ्न थालेका छन् । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ ।

नयाँ वर्ष लाग्न केही दिन बाँकी भएसँगै हवाई र सडकमार्गबाट रारा पुग्ने पर्यटकको सङ्ख्या बढेको हो । रारा क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले जानकारी दिए । उनका अनुसार मिलीचौर, सल्लेरी, ताल्चलगायत गाउँमा पर्यटकको घुइँचो लाग्न थालेको हो ।
रारा वरिपरि दुई पर्यटकीय होटलसहित माझघट्ट घरवास सञ्चालन भए पनि पर्याप्त पर्यटक राख्न भने अझै समस्या छ । रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुङ्गा चालकलाई समेत भ्याइनभ्याई हुन थालेको छ ।

नयाँ वर्षको अवसर पारेर चैत महिनाको दोस्रो साताबाट रारा घुम्न आउने पर्यटक सङ्ख्या बढ्न थालेको निकुञ्जका सूचना अधिकारी रोकायाले बताउनुभयो । दैनिक १५० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न पुगीरहेका छन् ।