दुई करोड लगानीमा कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती



काठमाडौं । कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागन खेती सुरु गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती सुरु गरिएको हो ।

छ बिघा जग्गामा ३० हजार बिरुवा रोपिएका छन् । लकडाउनको समयमा नँया कामको थालनी गरी रोजगारी सृर्जना गर्ने हेतुले ड्रागनखेती सुरु गरिएको महताले जानकारी दिए । ड्रागनखेती गरिएको फार्ममा चार जनाले प्रत्यक्षरूपमा रोजगारी पाएका छन ।

उनका अनुसार फल लाग्दासम्म ५० जनालाई र फल बजारमा बेच्न तयार भएपछि ३०० जनालाई रोजगारी दिने योजना रहेको छ । ड्रागनखेतीका लागि रु ५० लाख सेयर सदस्यबाट र अन्य रकम बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई लगानी गरिएको छ ।