जोर्डनका पूर्वराजकुमार हमजा बिन हुसैन घरभित्रै नजरबन्दमा



काठमाडौं । जोर्डनका पूर्वराजकुमार हमजा बिन हुसैनलाई घरभित्रै नजरबन्दमा राखिएको छ।

वर्तमान सत्ताधारीहरूले आफ्ना आलोचकमाथि कारबाही गर्ने क्रममा हमजालाई पनि नजरबन्दमा राखिदिएका हुन्‌। बेलायती प्रसारण निगम (बीबीसी) लाई हमजाका वकिलले एक भिडियो पठाएका छन्, जसबाट जोर्डनी पूर्वराजकुमार नजरबन्दमा रहेको पुष्टि हुन्छ।

राजकुमार हमजा जोर्डनका राजा अब्दुल्लाका सौतेनी भाइ हुन्। हमजाले देशका नेताहरूमाथि भ्रष्टाचार, अक्षमता र उत्पीडन गरेको आरोप लगाउँदै आएका छन्।

सुरक्षा कारण देखाउँदै जोर्डनमा सार्वजनिक पहिचान बनाएका अधिकांश मानिसहरूलाई हिरासतमा राखिएको खबर सार्वजनिक भइरहेको छ। हमजाले यसअघि आफू नजरबन्दमा नजाने अडान लिएका थिए।