लेस्टरको मैदानमा म्यानचेस्टरले निकाल्यो २-० को सहज जित



एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि उसकै मैदानमा २–० को सहज जित हात पारेको छ ।

डिफेन्डर बेन्जामिन मेन्डी र फरवार्ड गाब्रियल जेससको गोल मद्दतमा शीर्षीस्थानमा रहेको म्यानचेस्टरले उसकै मैदानमा सहज जित हात पारेको हो । शनिबार राति भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको ५८औं मिनेटमा बेन्जामिन मेन्डीले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । रोड्रीको क्रसलाई युरी टिलेमान्सले क्लियर गर्न नसकेको बललाई मेन्डीले जाली चुमाएका थिए ।

७४औं मिनेटमा ब्राजिली फरवार्ड जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले सब्सिच्युट रहिम स्टर्लिङको पासलाई सदुपयोग गरेका थिए । उनी ६३औं मिनेटमा सर्जियो अगुइरोको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।

घरेलु मैदानमा २–० ले पछि परेको लेस्टरले त्यसपछि सुधारिएको खेल पस्कदै सिटीमाथि दवाव बढाएपनि फिनिसिङमा चुक्दा सिटी विजयी हुन सफल भयो । यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३१ खेलबाट ७४ अंक पुगेको छ ।

सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई १७ अंकले पछि पारेको छ । यद्दपि युनाइटेडले दुई खेल कम खेलेको छ । पराजित लेस्टर ५६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।