अब छिट्टै नयाँ सरकार गठन हुने प्रचण्डको दावी



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको भन्दै सम्भवत छिट्टै नयाँ सरकार बन्ने उनले दावी गरेका हुन् ।

कपिलवस्तुमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसले केपी ओलीको राजीनामा माग गरेकाले अब देशमा राजनीतिक परिवर्तन हुने र नयाँ सरकार आउने दाबी गरे । अध्यक्ष प्रचण्डले १० वर्षे जनयुद्धका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान निर्माण भएको दाबी गरे ।

माओवादी जनयुद्धमा मधेसी जनताका छोराछोरीले गरेको बलिदानी र त्यागका कारण देशमा नयाँ संविधान जारी भएको भन्दै सम्पूर्ण मधेसी समुदायलाई धन्यवाद दिए । उनले नयाँ सरकार गठन हुनेबित्तिकै आफूले सबैभन्दा पहिला सीमानाकामा मधेसी जनताले भोग्नुपरेको समस्या हटाउने प्रतिबद्धता जनाए ।

प्रचण्डले भने, ‘मलाई मधेसमा केके समस्या छन् सबै थाहा छ । यहाँ सीमामा समस्या छ, मलखाद र सिंचाइको समस्या छ, महिलाहिंसाको समस्या छ अनि रोगव्याधीको समस्या छ । ति सबै नयाँ सरकार गठन हुनेबित्तिकै समाधान हुनेछ । राजनीतिमा केपी ओली भन्दा आफू इमान्दार भएको उनले दाबी गरे ।