छत्तीसगढमा माओवादी र सुरक्षाकर्मीको भिडन्तमा ५ सुरक्षाकर्मीको मृत्यु



काठमाडौं । भारतस्थित छत्तीसगढमा माओवादी विद्रोहीसँगको भिडन्तमा पाँच सुरक्षाकर्मी मारिएका छन् । शनिबार माओवादी र सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा उनीहरुको मृत्यु भारतिय सञ्चार माध्ययमले जनाएका छन् ।

बीबीसी हिन्दीका अनुसार भिडन्तमा परी १२ सुरक्षाकर्मीहरु गम्भीर घाइते भएका छन् । उक्त स्थानमा एक महिलाको शव पनि फेला परेको समाचारमा जनाइएको छ ।

‘सुकम र बिजापुर जिल्लाका सुरक्षाकर्मीले विद्रोहीको खोजी गरिरहेका थिए । तर्रेम र सिलगेर जंगलको इलाकामा लुकेका माओवादी विद्रोहीले एक्कासी आक्रमण गरेको समाचारमा उल्ल्ेख गरिएको छ ।

घटनमा घाइते भएकाहरुको उद्धार गर्न हेलिकोप्टर पठाइएको छ । गत मार्च २५ मा छत्तीसगढस्थित नारायणपुर जिल्लामा माओवादीको आक्रमणमा परी ५ सैनिकको मृत्यु भएको थियो । उक्त घटनामा १४ जना घाइते भएका थिए । उनीहरु तालिमबाट फर्किँदै गर्दा आक्रममा परेका थिए।