विकासका लागि ताजा जनादेशमा जानुपर्छ: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय अंक गणितले राष्ट्रिय आवश्यकताको सधैँ प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्ने बताएका छन् ।

ओलीले देशको आवश्यकता र संसद्को गणित फरक पर्ने र कृत्रिम ढंगले केही मानिसले संसदीय गणितलाई नै मिलाइदिने भन्दै यसको परिवर्तनको खाँचो रहेको बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले संसदीय अंक गणितले राष्ट्रिय आवश्यकताको सधैं प्रतिनिधित्व गर्छ भन्न नसकिने जिकिर गरे ।

त्यस्तो अवस्थामा संसदीय अंक गणित देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्छ दावी उनको छ ।
उनले ताजा जनादेश कसैको निहित स्वार्थमा नभई देश र जनताको आवश्यकताका आधारमा हुनुपर्ने बताए । प्रधानमन्त्रीले देशको आवश्यकतासँग अंक गणित मेल नखाएपछि ताजा जनादेशमा जानका लागि आफूले संसद् विघटन गरेको प्रष्टीकरण दिए ।

प्रधानमन्त्रीले विकास निर्माणका कामलाई अवरोध नगरी निरन्तर चालू राखे मात्र चाँडो विकास हुने बताए । आयोजनामा कुनै आर्थिक अनियमिता भए छानविन र काम पनि सँगसँगै लैजानुपर्ने उनको भनाइ थियो ।