अमेरिकी संसद् भवनबाहिर आक्रमण हुँदा एक प्रहरी अधिकृत र आक्रमणकारीको मृत्यु



काठमाडौं । शुक्रबार वासिङ्टनस्थित अमेरिकी संसद् भवन(यूएस क्यापिटल बिल्डिङ कम्प्लेक्स) मा भएको आक्रमणमा एक जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो सुरक्षाका लागि राखिएको ब्यारिकेडमा एउटा कारले ठक्कर दिएर अधिकारीमाथि आक्रमण भएको थियो । कारमा सवार ती व्यक्ति ओर्लिएर प्रहरी अधिकारीलाई चक्कु प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आफूमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाउँदा आक्रमणकारीको पनि मृत्यु भएको छ ।

संदिग्ध आक्रमणकारीको २५ वर्षीय नोआह ग्रीनका रुपमा पहिचान खुलेको सीएनएनले जनाएको छ । क्यापिटल प्रहरी प्रमुख योगानन्द पिटम्यानका अनुसार आक्रमणमा परी प्रहरी अधिकृत विलियम बिली इभान्सको मृत्यु भएको हो । उनी १८ वर्षदेखि क्यापिटल पुलिस फोर्समा कार्यरत थिए ।

प्रहरी अधिकारीले उक्त आक्रमण आतंकवादसँग भने नजोडिएको बताएका छ । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सचिव अलेजान्द्रो मायोर्कासले आक्रमणका बारेमा अनुसन्धान भइरहेको बताएका छन् ।

आक्रमणपछि अमेरिकी संसद् भवन वरपर भारी मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । यसअघि जनवरी ६ मा अमेरिकी संसद् भवनमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक भीडले आक्रमण गरेको थियो । उक्त आक्रमणमा १ जना प्रहरी अधिकृतसहित ५ जनाको मृत्यु भएको थियो ।