सुदूरपश्चिमका ६ जिल्ला कमिटीका नेपाल–खनाल निकट अध्यक्ष जिम्मेवारीबाट हटाइए



कठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सुदूरपश्चिमको ६ वटा जिल्ला कमिटीका अध्यक्षमा आफ्ना पक्षका नेतालाई दिएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटिले नेपाल–खनाल निकट ६ वटा जिल्ला कमिटिका अध्यक्षको जिम्मेवारी खोसेर प्रदेशका ९ वटै जिल्ला कमिटि अध्यक्ष र सचिवको जिम्मेवारी ओली निकटलाई दिएको हो ।

यसअघि नौ मध्ये ६ जिल्लामा नेपाल–खनाल समूहका नेता जिल्ला कमिटि अध्यक्ष रहेका थिए । एमाले प्रदेश कमिटिले जिल्ला अध्यक्षलाई ‘अर्को व्यवस्था नभएसम्मका लागि’ भन्दै ९ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम उल्लेख गरेर जिम्मेवारी दिएको पत्र काटेको छ ।

कञ्चनपुर जिल्ला कमिटि अध्यक्ष तारालामा तामाङलाई जिम्मेवारीबाट हटाएर उनको ठाउँमा वीरबहादुर थापा (पाताल) लाई राखिएको छ ।
यस्तै नेपाल–खनाल निकट कैलालीका अध्यक्ष दीर्घ सोडारीलाई हटाएर रतन थापा, डडेल्धुरामा डा. तारा जोशीलाई हटाएर प्रकाश साउँद, डोटीमा चक्र मल्ललाई हटाएर रामबहादुर ऐर, अछाममा शेरबहादुर कुँवरलाई हटाएर चन्द्र बोहरा र बझाङमा दीलबहादुर सिंहलाई हटाएर अफिलाल ओखेडालाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

ओली निकट बैतडीका अध्यक्ष सुरेन्द्र पाल, दार्चुलाका अध्यक्ष रामदत्त जोशी र बाजुराका अध्यक्ष लालबहादुर शाहीलाई भने अध्यक्षमा निरन्तरता दिइएको छ ।