प्रधानमन्त्री ओलीको राजीनामा मागी सरकारको नेतृत्व लिने कांग्रेसको निर्णय



कठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रोकेर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच छलफल भएको थियो ।

लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको एक नेताले जानकारी दिए ।नेताहरुबीचको सहमतिपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा त्यही प्रस्ताव आएको र निर्णय गरिएको जनाइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने ओलीको विस्थापनका लागि छिटो निर्णय लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक–पटक भेटेर आग्रह गर्दै आएका थिए ।