राप्रपाबाट पार्टी प्रवेस गरेका १० हजारलाई क्रियाशील सदस्यता दिने कांग्रेसको तयारी



काठमाडौं । नेपाली कांग्रेसले विभिन्न जिल्लामा राप्रपाबाट काँग्रेस प्रवेस गरेका साढे १० हजार कार्यकर्तालाई क्रियाशील सदस्यता दिने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको छलफलले यस्तो सहमति गरेको हो ।

विभिन्न ४८ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपाली कांग्रेस प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापनका लागि क्रियाशील सदस्यता थप गर्ने सहमति भएको हो । राप्रपाबाट सुनिल थापाको समूह नेपाली कांग्रेस प्रवेश गरेको थियो । उनीहरुको व्यवस्थापनका लागि देउवा–पौडेलबीच सहमति भएको बताइएको छ ।

१४ औँ महाधिवेशनका कुनै पनि कार्यतालिका प्रभावित नहुने गरी क्रियाशील सदस्यता केन्द्रमा पठाउने मिति हेरफेरको तयारीसमेत गरिएको छ । चैत १० सम्म क्रियाशील सदस्यता बुझाउने समयसीमा तोकिएकोमा अब वैशाख पहिलो सातासम्म समय थपको तयारी रहेको देउवा–पौडेल छलफलमा सहभागी एक नेताले जानकारी दिए ।