‘कालोबजारी र कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर’



काठमाडौ । बजारमा कालोबजारी र कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले कालोबजारी गर्ने र कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधी व्यवस्था विभाग, भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको हो ।

समितिले चारवटै विभागका महानिर्देशकलाई बैठकमा बोलाई उपभोक्ता हकहित र बजार व्यवस्थापनमा सुशासनको अवस्था सम्बन्धमा छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । समिति सभापति तारादेवी भट्टले वर्तमान मार्केट गभर्नेन्सको व्यवस्था नियमित अनुगमन गरी डाटाहरु सुव्यवस्थित राख्न पनि निर्देशन दिएकी हुन् ।

यस्तै दर्ता भए पनि र नभए पनि कर नतिर्ने तथा महँगो र चर्को मूल्यमा सामान बेच्नेलाई कानूनी दायराभित्र ल्याई दण्ड र जरिमाना सहित कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ । समितिले बिल बिजक लिनुपर्छ भन्ने सम्बन्धमा बढी भन्दा बढी जनचेतना फैलाउनु सरकारको दायित्व भएकोले त्यस तर्फ ध्यान दिन समेत विभागलाई निर्देशन दिएको छ ।