बैंकहरुले दैनिक २० केजी सुन ल्याउन पाउने भएपछि कच्चा सुनको अभाव हट्ने



काठमाडौं । वाणिज्य बैंकहरुले अब दैनिक २० केजी सुन आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र जारी गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण २० केजी कायम गरिएको जनाएको छ ।

कोरोना नियन्त्रणका लागि गत वर्षको चैतमा लकडाउन गर्दा सरकारले दैनिक दस केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो । त्यसअघि भने दैनिक २० केजीकै कोटा छुट्याइएको थियो । १० केजीको व्यवस्था कायम गरिएपछि बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।

सुन अभाव हुँदा वैसाखी लगनको लागी अग्रिम बुकिङमा असर परेको व्यवसायीहरुले गुनासो गरेका थिए । हाल दैनिक तीस केजी हाराहारीमा सुनको माग रहेको उनको भनाइ छ । आयातको कोटा बढेपछि बजारको अभाव हट्ने उनले बताए ।

लकडाउनमा रोकिएका विवाह, पूजा ब्रतबन्ध लगायत सांस्कृतिक पर्वहरू पनि धमाधम हुन थालेकाले सुनको माग अहिले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिकरत्न शाक्यले बताए ।