संसद् पुनःस्थापना भएपनि प्रतिगमनकारी षड्यन्त्रको अन्त्य भएन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ठूलो षड्यन्त्र भएको बताएका छन् । शुक्रबार मणिकलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै दाहालले नेपाली जनताको पहिचान र अधिकारलाई उल्ट्याएर फेरि प्रतिगमनतिरै लाने षड्यन्त्र भएको बताएक हुन् ।

उनले भने ‘मूल्यमान्यता, लोकतन्त्र या आन्दोलनका उपलब्धिले स्थापित गरेका मुद्दा या सहिदहरुले बगाएको रगत सबैको अपमान गर्ने र फेरि समाजलाई निरंकुशतन्त्रतिरै लैजाने षड्यन्त्र भएको छ, ‘यस्तोमा समाज हामी जहाँ आइपुगेका छौं, अब चरम फाँसीवादी निरंकुशतातिर जाने खतरा छ । यस्तो बेला हामीले त्यसका विरुद्ध खबरदारी गरेका छौं ।’
उनले संसद् पुनःस्थापना भए पनि त्यस्तो प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको दाबी गरे । दाहालले अहिले संविधान, नियम, कानुनले काम नगरेर सेटिङले काम गर्न थालेको पनि दाबी गर्दै संवैधानिक निकायका प्रमुखहरु नै सेटिङमा चलेको आरोप लगाएका हुन् । संसद पुनर्स्थास्पना भएपनि प्रतिगमनकारी षड्यन्त्रको अन्त्य भने नभएको दावी उनको छ ।

उनले भने, ‘देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुको बीचमा सेटिङ हुने। ऐन, नियम, मूल्य मान्यताले काम नगर्ने, सेटिङले काम गर्ने र त्यो सेटिङ नेपाली जनताको अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विचित्रको स्थितिमा छौं ।’ अहिले प्रतिगमनतिरको यात्रा सरकारबाटै सुरु गरिएको भन्दै दाहालले त्यसलाई रोक्न संकल्प गर्नुपर्ने बताए ।

त्यस्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँगको विवाद व्यक्तिगत नभएर वैचारिक भएको दाहालको दाबी छ । ओलीले लिएको बाटो र आफूले लिएको बाटोको कतै तालमेल नुहँदा अहिलेको स्थिति सिर्जना भएको उनले बताए ।

वामपन्थी चिन्तक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा चैत ३ गते निधन भएको थियो । लामो समयदेखि मिर्गौला र मुटु रोगको समस्याबाट पीडित श्रेष्ठको महाराजगन्जस्थित सहिद गंगालाल हृदय केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।