थ्री नेसन्स कप विजेतालाई जनही ४ लाख दिने सरकारको निर्णय



काठमाडौं । सरकारले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही ४ लाख रुपैँया पुरस्कार दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको हो ।

यस अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरीसकेको छ । दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

थ्री नेसन्सको उपाधिसँगै नेपालले ३७ वर्षपछि घरेलु भूमिमा पहिलो उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर समेत प्राप्त गरेको थियो ।